logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • रसुवाका बाढीपीडितको उपचारमा रगत अभाव हुन नदिने रेडक्रसको तयारी

    706Shares
    रसुवाका बाढीपीडितको उपचारमा रगत अभाव हुन नदिने रेडक्रसको तयारी

    काठमाडौं, रसुवामा बाढीपछि घाइतेको उपचारका क्रममा रगतको माग बढ्न सक्ने भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार व्यवस्थापनलाई सक्रिय बनाएको छ।

    रेडक्रसले काठमाडौंसहित विभिन्न जिल्लाका रक्तसञ्चार केन्द्र तथा अस्पतालसँग समन्वय गर्दै आवश्यक परे तत्काल रगत उपलब्ध गराउने तयारी गरेको जनाएको छ। हाल काठमाडौंस्थित रक्तसञ्चार केन्द्रमा करिब १ हजार युनिट रगत मौज्दात रहेको ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताले जानकारी दिए।

    उनका अनुसार धादिङ, चितवनलगायत जिल्लाका रक्तसञ्चार केन्द्रमा पनि आवश्यकताअनुसार प्रयोग गर्न सकिने रगत मौज्दात छ। रसुवा तथा आसपासका क्षेत्रमा घाइतेको संख्या बढेमा स्थानीय रूपमा उपलब्ध रगत प्रयोग गर्ने र आवश्यक परे अन्य जिल्लाबाट समेत ल्याएर आपूर्ति गर्ने तयारी गरिएको छ।

    ‘अहिले हामीसँग रगतको स्टक पर्याप्त छ। रसुवाको घटनालाई ध्यानमा राखेर अस्पतालहरूसँग पनि समन्वय भइरहेको छ,’ गुप्ताले भने, ‘आवश्यकता परेको अवस्थामा तत्काल रगत उपलब्ध गराउन सक्ने गरी हामी तयारी अवस्थामा छौं।’

    विशेषगरी आकस्मिक उपचार तथा ट्रमा सेवासँग सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी र सम्बन्धित युनिटसँग रेडक्रसले निरन्तर सम्पर्क राखिरहेको छ। अस्पतालबाट आउने रगतको मागलाई निगरानीमा राख्दै आवश्यकता पहिचान गरिने गुप्ताले बताए।

    विपद्का बेला एकैपटक ठूलो संख्यामा घाइते हुन सक्ने भएकाले एउटा जिल्लामा रगतको माग बढे अर्को जिल्लाबाट समेत आपूर्ति गर्ने गरी अन्तरजिल्ला समन्वयको व्यवस्था मिलाइएको रेडक्रसले जनाएको छ।

    हाल तत्काल रगत अभावको अवस्था नरहे पनि विपद्को प्रभाव लामो समय रहन सक्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिन रेडक्रसले आग्रह गरेको छ। रगतको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न स्वयंसेवी रक्तदाता समाज नेपाल, ब्लड डोनर्स एसोसिएसन नेपाल, विभिन्न संघसंस्था तथा अन्य रक्तदातासँग समेत समन्वय भइरहेको गुप्ताले जानकारी दिए।

    रेडक्रसले रसुवामा बाढीबाट प्रभावित तथा घाइतेको उपचारमा रगत अभाव हुन नदिन आफ्नो रक्तसञ्चार संयन्त्रलाई तयारी अवस्थामा राखेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट