सप्तरी । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर कसैले स्वघोषणाका भरमा आधिकारिक कांग्रेसको दाबी गर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न प्रमुख अतिथिका रूपमा सप्तरी पुगेका महतले केही दिनअघि सभापति गगन थापाले पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गरिने बताएको विषयमा प्रतिक्रिया दिँदै यस्तो धारणा राखेका हुन्।
थापाको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै महतले कांग्रेस निर्माण गर्नेहरूकै पार्टी नहुने अवस्था कसरी आयो भन्दै प्रश्न गरे। कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउन कसैको नियोजित पात्र बनेर काम गर्नेहरूलाई नै कांग्रेसको वास्तविक उत्तराधिकारी मान्न नसकिने उनको तर्क थियो।
‘नेपाली कांग्रेस जसले निर्माण गर्यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?’ महतले प्रश्न गरे।
उनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको दाबी गरे। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, बीपी पुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिजस्ता वरिष्ठ नेताहरू आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले यही समूह नै आधिकारिक कांग्रेस भएको जिकिर गरे।
महतले कुनै विधि र विधानले नचिनेको प्रक्रियाबाट स्वघोषणाका आधारमा बनेको नेतृत्वलाई आधिकारिक मान्न नसकिने भन्दै कार्यकर्तालाई त्यस्ता विषयमा अलमलिन आग्रह गरे।
उनले कांग्रेसको विचार, नीति र सिद्धान्तमा प्रतिबद्ध नेता तथा कार्यकर्तालाई सेवा–सुविधा कटौती हुने वा कारबाहीमा पर्ने डरबाट विचलित नहुन पनि आग्रह गरे।
‘कांग्रेसको विचारमा लागेका नेता–कार्यकर्तालाई म भन्न चाहन्छु, हामी नीति, विचार र निष्ठा त्यागेर नियमित तलब र आयआर्जनका लागि राजनीतिमा लागेका होइनौँ,’ महतले भने, ‘लोकतन्त्र र विधिका लागि हाम्रा अग्रजहरूले प्राण आहुति दिनसमेत तयार भएर काम गर्नुभयो। हामी पनि त्यही बाटोमा छौँ। त्यसैले तपाईं–हामी सेवा–सुविधा काटिन्छ कि भनेर डराउनुपर्ने अवस्था छैन।’
उनको अभिव्यक्तिले कांग्रेसभित्र नियमित महाधिवेशनको प्रक्रियालाई लिएर चुलिएको विवाद थप सतहमा ल्याएको छ। विशेषगरी महाधिवेशनमा सहभागी हुने नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी र त्यसको प्रतिवादमा महतले उठाएको आधिकारिकताको प्रश्नले पार्टीभित्रको नेतृत्व तथा वैधानिकताको विवादलाई थप पेचिलो बनाउने संकेत गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया