काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा सङ्क्रमणको शङ्का गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन । यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ । स्वास्थ्य सहायता संस्थाहरूले ठुलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन् । यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ । स्थानीय मानिसहरूले उपचार केन्द्र्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ ।
डब्लुएचओले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले ‘सङ्क्रमित व्यक्तिहरूको वास्तविक सङ्ख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको’ बताउनुभयो ।
इबोलाको अहिलेको स्ट्रेन बुन्डिबुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्लुएचओले त्यसको औषधी वा खोप नरहेको उल्लेख गरेको छ । डब्लुएचओका अनुसार प्रयोगशालाबाट प्रमाणित भएका अहिले आठ जना सङ्क्रमित छन् भने इटुरी प्रान्तको राजधानी बुनिया, सुनखानी रहेका मोङ्गावालु र ¥वाम्पारा नगरसहितका क्षेत्रमा अरू शङ्कास्पद बिरामी तथा मृत्युका घटना पाइएका छन् ।
छिमेकी देशमा पनि पुष्टि
उक्त भाइरस प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाहिर फैलिइसकेको उल्लेख गर्दै डब्लुएचओले छिमेकी देश युगान्डामा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । बिहीबार मृत्यु भएका एक ५९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि गरिएको युगान्डाका अधिकारीहरूले बताएका छन् । मानिसहरूको आउजाउ तथा व्यापार व्यवसायका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोका छिमेकी देशहरू थप सङ्क्रमण फैलिने उच्च जोखिममा रहेका ठानिएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ ।
नेपालमा उच्च सतर्कता
नेपालमा कङ्गोबाट नेपाली तथा पर्यटक आवतजावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल सरकारले पनि विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढाएको जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा हालसम्म इबोला सङ्क्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको जानकारी दिनुभयो । “नेपालीको कङ्गोबाट आवतजावत भइरहेको हुन्छ,” डा. देवकोटाले भन्नुभयो, “यो अवस्थामा नेपालले सतर्कता अपनाएको छ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुख्य नाकाहरूमा स्वास्थ्य निगरानीलाई थप प्रभावकारी बनाइएको र स्वास्थ्यकर्मीहरूलाई सतर्क रहन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । अहिले तत्काल डराउनुपर्ने अवस्था नरहे पनि सतर्कता र तयारीलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ज्वरो, अत्यधिक कमजोरी, रक्तस्राव वा अन्य शङ्कास्पद लक्षण देखिएका यात्रुलाई तत्काल स्वास्थ्य परीक्षणको दायरामा ल्याउने व्यवस्था गरिएको छ । उहाँले इबोला अत्यन्तै घातक रोग भए पनि यसको सङ्क्रमण सामान्य रूपमा हावाबाट फैलिने नभई सङ्क्रमित व्यक्तिको रगत, पसिना, ¥याल वा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा सङ्क्रमण सर्ने भएकाले जनस्वास्थ्यका आधारभूत सावधानीहरू अत्यन्त प्रभावकारी हुने बताउनुभयो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा तत्काल ठुलो जोखिम नरहे पनि विश्वव्यापी आवतजावतका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित रहन नसक्ने बताउनुभयो । उहाँले सीमित स्वास्थ्य स्रोत भएका मुलुकहरूमा सङ्क्रमण प्रवेश गरे नियन्त्रण चुनौतीपूर्ण हुन सक्ने भएकाले प्रारम्भिक पहिचान र निगरानी प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इबोला भाइरस पहिलो पटक सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिचान गरिएको थियो । इबोला सङ्क्रमित व्यक्तिको रगत, ¥याल, पसिना वा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट फैलिने गर्छ । सङ्क्रमण गम्भीर बन्दै जाँदा शरीरमा आन्तरिक रक्तस्राव, अङ्गहरूले काम गर्न छोड्ने अवस्था तथा बहुअङ्ग विफलता देखिन सक्छ ।
डा. पुनका अनुसार सुरुवाती चरणमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, अत्यधिक थकान हुने र घाँटी दुख्ने लक्षण देखिने गर्छन् । पछि बान्ता, पखाला, शरीरमा डाबर आउने तथा आन्तरिक र बाह्य रक्तस्राव हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको औसत मृत्युदर करिब ५० प्रतिशतसम्म रहने गरेको छ ।
यसैबिच पछिल्लो समय विश्वका विभिन्न मुलुकमा हान्टा भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले हान्टा भाइरस तत्काल नेपाल आउने सम्भावना नरहे पनि सतर्कता अपनाएको जानकारी दिनुभयो ।
सरुवारोग विशेषज्ञ डा. पुनका अनुसार हान्टा भाइरस नयाँ रोग नभई विगतदेखि नै विभिन्न देशमा समय समयमा देखिँदै आएको दुर्लभ भाइरसजन्य सङ्क्रमण हो । हान्टा भाइरस समूह अन्तर्गत पर्ने एन्डिज भाइरस विशेष गरी सङ्क्रमित मुसाको पिसाब, दिसा, ¥याल वा त्यसबाट दूषित भएको वातावरणको सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्छ ।
उहाँले सङ्क्रमित मुसाले छोएका वस्तु, धुलो वा फोहोर सफा गर्ने क्रममा सावधानी नअपनाउँदा सङ्क्रमणको जोखिम बढ्न सक्ने बताउनुभयो । हान्टा भाइरसका प्रारम्भिक लक्षणमा ज्वरो आउने, शरीर गल्ने, रिँगटा लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, वाकवाकी वा बान्ता हुने, पेट दुख्ने तथा रक्तचाप घट्ने जस्ता समस्या देखिने गर्छन् । रोग जटिल बन्दै जाँदा खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, छाती कस्सिएको अनुभव हुने, फोक्सो तथा मिर्गौलाको कार्यक्षमतामा असर पुग्ने अवस्थासमेत आउन सक्ने उहाँले बताउनुभयो ।
डा. पुनले नेपालमा हाल जोखिम कम भए पनि अन्तर्राष्ट्रिय आवतजावतका कारण भविष्यमा सङ्क्रमण भित्रिन सक्ने सम्भावना पूर्ण रूपमा नकार्न नसकिने बताउनुभयो । उहाँले रोग निगरानी प्रणाली बलियो बनाउन, परीक्षणको दायरा विस्तार गर्न तथा सम्भावित जोखिमको समयमै पहिचान गर्न सरकारलाई सुझाव दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया