काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार साँझ भेटवार्ता भएको छ। ब्रिक्स सम्मेलनका लागि नयाँदिल्ली पुगेका राष्ट्रपति सीसँग मोदीले भेटवार्ता गरेका हुन्।
भेटवार्तामा दुई नेताले अगस्ट २०२५ मा चीनको तियानजिनमा भएको पछिल्लो भेटपछि भारत–चीन सम्बन्धमा भइरहेको प्रगतिबारे छलफल गरेका छन्। दुवै नेताले दुई देशको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा सहमति जनाएका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार दुवै नेताले दुई देशबीचका मतभेदलाई विवादमा परिणत हुन दिन नहुने साझा धारणा व्यक्त गरेका छन्। मोदीले भारत–चीन सम्बन्ध पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितबाट निर्देशित हुनुपर्ने बताएका छन्।
मोदीले सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नु दुई देशबीचको सम्बन्धका लागि आवश्यक रहेको बताएका छन्। उनले सीमा सम्बन्धी यसअघि भएका सम्झौता र समझदारीलाई दुवै पक्षले पालना गर्नुपर्नेमा समेत जोड दिएका छन्।
भेटवार्तामा दुवै नेताले दुई देशका जनताको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सीमा विवादको न्यायोचित, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चिनियाँ राष्ट्रपति सीले भारतसँगको सम्बन्धलाई चीनले रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्ने बताएका छन्। दुई देशले दीर्घकालीन हितका आधारमा सम्बन्ध अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
सीले ब्रिक्स सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई थप बलियो बनाउन चीन र भारतले मिलेर काम गर्नुपर्ने बताएका छन्। उनले दुवै देशले एकअर्काका सबल पक्षबाट सिक्दै आफ्ना क्षमताको सदुपयोग गरेर साझा विकास हासिल गर्न सक्ने धारणा पनि राखेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया