काठमाडौं । आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप फुटबल प्रतियोगिता भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न ३७ प्रतिष्ठित विद्यालयका छात्रहरूले आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए ।
माघे संक्रान्तिको अवसरमा मार्स युवा क्लवको संयोजनमा सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निर्भना एकेडेमी, कुमारीपाटी ललितपुरले उपाधि जितेको छ । उपाधी विजेता टीमले ३० हजार नगद पुरस्कार सहित प्रमाणपत्र, ट्रफी, र पदक प्राप्त गरेको छ ।
उपविजेता ज्ञानोदय एकेडेमी ‘ए’, खोकना टीमले पनि उत्कृष्ट खेल कौशल देखाउँदै दश हजार नगद पुरस्कार सहित प्रमाणपत्र, ट्रफी, र पदक प्राप्त गरेको छ । त्यसैगरी, ज्ञानोदय एकेडेमी ‘बी’ टीमले तेस्रो स्थान हासिल गर्दै ट्रफी, मेडल (पदक) र प्रमाण पत्र प्राप्त गरेको छ भने, प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुलाई समेत सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ ।
आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहले प्रतियोगिताको उद्देश्यबारे चर्चा गर्दै भने, ‘यो प्रतियोगिताले नव प्रतिभाहरुको पहिचान र प्रोत्साहनमा सहयोग पु¥याएको छ । यी र यस्ता प्रतियोगिताहरुले खेलकुद क्षेत्रमा युवाहरुको रुचि र सक्रियता बढाउनमा मद्दत पु¥याउनुको साथै, खेलाडीहरुको सीप र क्षमतामा महत्वपूर्ण सुधार एवं निखार ल्याई भविष्यका लागि खेलाडीहरू तयार गर्नमा समेत सहयोग पुरÞ्याउँछ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साहले भने, ‘आईटी आर्मी गोल्ड कपले युवा–विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा योगदान पु¥याउनुका साथै खेलाडी र खेलकुद क्षेत्रको प्रवद्र्धनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ ।’ उनले थपे, ‘मलाई विश्वास छ, यी र यस्ता प्रतिस्पर्धाहरुले आगामी दिनहरुमा हाम्रा युवाविद्यार्थी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा पनि प्रतिस्पर्धा गर्न सक्षम बनाउने आधार तयार गर्छन्, हौसला बुलन्द गर्छन् ।’
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, खेलाडी, खेलप्रेमी दर्शक, प्रशिक्षक, अभिभावक र विभिन्न विद्यालयका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
आईटी आर्मी अन्तर विद्यालय गोल्ड कपमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने निर्भना एकेडेमीका सुजन तामाङलाई वेस्ट प्लेयर घोषित गरिएको छ भने ज्ञानोदय एकेडेमीका राजन सुनारलाई वेस्ट गोल रक्षकको उपाधी र सनिस मगरलाई योङ्ग प्लेअरको उपाधी प्रदान गरिएको छ । यस प्रतियोगिताले युवा विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नमा महत्वपूर्ण योगदान पुरÞ्याएको छ भने, यसले नेपालका खेलकुद क्षेत्रलाई थप नयाँ उचाइमा पु¥याउन सहयोगी भूमिका निर्वाह गर्ने आशा समेत गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया