काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, सैफ हसनले अविजित ४० रन बनाए । दुवैले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ गोर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।
काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, राशिद खानले १७, समित पटेलले १३ र समित महर्जनले १० रनको योगदान दिए ।
जनकपुरका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सैफ हसनले २ विकेट लिँदा हरमित सिंह, मोइन अली र ललित राजवंशीले समान १ विकेट हात पारे ।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ । यता, काठमाडौँ गोर्खाजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
एनपीएलअन्तर्गत बिहीबार नै कर्णाली याक्स र विराटनगर किंग्सबीच अर्को खेल हुँदैछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया