खोटाङ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसी महादेवस्थानको गुफा क्षेत्रमा राति रुख ढल्दा मन्दिर परिसरमा सामान्य क्षति पुगेको छ।
जेठ २९ गते राति गुफामाथिको एक रुख ढलेर रेलिङ लगायतका केही संरचनामा सामान्य क्षति पुगेको हो। रातिको समयमा घटना भएकाले कुनै मानवीय क्षति नभएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक चक्रबहादुर राईले जानकारी दिए।
उनका अनुसार ढलेको रुख बिहानै हटाइएको छ भने क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापनको काम पनि अघि बढाइएको छ। हाल मन्दिर दर्शन तथा आवागमन सामान्य रहेको र दर्शनार्थीलाई कुनै असहजता नहुने गरी आवश्यक व्यवस्था मिलाइएको विकास समितिले जनाएको छ।
कार्यकारी निर्देशक चक्रबहादुरले हलेसी क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउँदै विकास समिति, स्थानीय तह तथा अन्य सरोकारवालासँगको सहकार्यमा हलेसी क्षेत्रको सर्वाङ्गीण विकासका कार्यक्रमलाई अगाडि बढाइने बताए।
नेपालका प्रमुख धार्मिक गन्तव्यमध्ये एक हलेसी महादेवस्थानमा दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आवागमन हुने गर्दछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया