काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय व्यतित गर्नुभन्दा काम गर्न दबाब दिन नीजि क्षेत्रसँग आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो सो, २०२४को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै मन्त्रीले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा बोलाउनुभन्दा काम गर्ने वातापरण बनाइदिन आग्रह गरे ।
उनले व्यवसायीहरुको नीतिगत समस्यालाई समाधान गर्ने गरि सरकार अघि बढ्ने उल्लेख गरे। अब अटो उत्पादनतर्फ ध्यान केन्द्रीत हुनुपर्ने र यसमा सरकारले साथ दिने उनको भनाइ छ। उनले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिन सक्ने जिकिर गरे।
बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन नीजि क्षेत्रलाई सुझाए ।
त्यस्तै, उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोवाइल्सलाई लक्जरीको रूपमा हेर्दा केही सीमा र संकुचन देखिएको भन्दै यसलाई राज्यले ध्यान दिएर सहजीकरण गर्नुपर्ने बताए । अटो मोवाइल्सलाई प्राथमिकतामा राख्न सके करमा समेत बृद्धि हुने उनको भनाइ छ ।
नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका स्टलसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहेका छन्। नाडाले अटो शो अवधिभर करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले जनाएको छ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd