कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ।
बुधबार बिहान महाकाली नदीमा आएको बाढीले पुलको बीच भागमा रहेको एउटा पोल बगाएपछि पुल चुँडिएको हो।
महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना थियो। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल पुलमध्ये एक मानिने यसलाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।
पुलको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर र चौडाइ १ दशमलव ६ मिटर रहेको छ। महाकाली नदीले छुट्याएका दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले सीमावर्ती क्षेत्रमा स्थानीयको आवतजावत सहज बनाउँदै आएको थियो।
पुल भीमदत्त नगरपालिकाबाट करिब १२ किलोमिटर दक्षिणपश्चिम, महाकाली बाँधबाट करिब ८ किलोमिटर तल तथा भारत–नेपाल सीमाबाट करिब ५ दशमलव ५ किलोमिटर दक्षिणतर्फ रहेको छ।
दोधारा–चाँदनी झोलुङ्गे पुलमा २०६२ सालदेखि सर्वसाधारणको आवतजावत सुरु भएको थियो। पुल चुँडिएपछि दोधारा चाँदनी क्षेत्रको आवतजावत प्रभावित भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया