logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खस्दा कर्णाली करिडोर अवरुद्ध

    751Shares
    छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खस्दा कर्णाली करिडोर अवरुद्ध

    हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२, रिपनजिकैको छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेपछि सडक अवरुद्ध भएको छ ।

    शनिबार पहिरो खस्दा करिब १०० मिटर सडक क्षेत्रमा ढुंगा थुप्रिएपछि कर्णाली करिडोरमा सवारी आवागमन ठप्प भएको हो । सडकमा ठूलाठूला ढुंगा खसेका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

    जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेका छन् । अदानचुली गाउँपालिका–२ का कमल बुढाका अनुसार स्वास्थ्य शिविरमा सहभागी हुन आएका उनीहरू पहिरोका कारण गन्तव्यमा पुग्न सकेका छैनन् ।

    प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन आवश्यक पहल भइरहेको जानकारी दिए । उनका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन ।

    सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलगायत उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको उनले बताए । आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको छ ।

    दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले ती ढुंगा फुटाएर सडक सञ्चालनमा ल्याउनुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ आश्विन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट