काठमाडौं, नेकपा (एमाले) ले पार्टीभित्रको निर्वाचन समीक्षा, संगठन सुदृढीकरण तथा पुनर्गठनसम्बन्धी विषयमा छलफल गर्न लगातार तीन तहका बैठक बोलाएको छ।
एमालेका अनुसार असोज ४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदल र केन्द्रीय सचिवालयको बैठक बस्नेछ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बिहान ८ बजे बस्नेछ भने केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्नेछ।
त्यसपछि असोज ५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ। बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आयोजना हुने एमालेले जनाएको छ। एमालेले यसलाई वर्तमान नेतृत्वअन्तर्गतको केन्द्रीय कमिटीको तेस्रो बैठकका रूपमा अघि बढाएको छ।
केन्द्रीय कमिटी बैठकअघि बस्ने कार्यदल र सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले देशभरबाट संकलन गरेका सुझावका आधारमा प्रतिवेदन तयार गरिरहेको छ।
कार्यदलमा संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेपछि त्यसलाई समेटेर साझा प्रतिवेदन बनाउने प्रयास भइरहेको छ। कार्यदलले दुवै दस्तावेज अध्ययन गरी एउटै प्रतिवेदन तयार गरेर सचिवालय तथा त्यसपछि केन्द्रीय कमिटीमा पेस गर्ने तयारी गरेको छ।
केन्द्रीय कमिटी बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टीको सांगठनिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक दिशासहितका विषयमा छलफल हुने तयारी छ। कार्यदलले तयार गर्ने प्रतिवेदन पनि बैठकको महत्वपूर्ण छलफलको आधार बन्ने देखिएको छ।
एमालेले यसअघि नै असोज ५ देखि ७ गतेसम्म तीन दिन केन्द्रीय कमिटी बैठक बस्ने निर्णय सार्वजनिक गरिसकेको थियो।
असोज ४ गते बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिनेछ। त्यसपछि तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पछिल्लो अवस्था, निर्वाचन समीक्षा र संगठन पुनर्गठनसँग सम्बन्धित विषयमा आवश्यक निर्णय गर्ने तयारी गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया