logo

२०८३ असार १९ शुक्रबार

logo
  • २०८३ असार १९ शुक्रबार
  • बर्डफ्लु प्रभावित किसानलाई राहत: क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ निकासा

    745Shares
    बर्डफ्लु प्रभावित किसानलाई राहत: क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ निकासा

    काठमाडौं — कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

    मन्त्रालयले बर्डफ्लु संक्रमण पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरमार्फत उक्त रकम विभागलाई पठाएको हो। आर्थिक क्षति व्यहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरणका लागि विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।

    पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट प्रमाणित क्षतिको आधारमा प्रभावित किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ।

    विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा बर्डफ्लु संक्रमण देखिएपछि करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

    बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ।

    गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्डफ्लु संक्रमण हाल ११ जिल्लामा फैलिसकेको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित संक्रमण नियन्त्रणका लागि संक्रमित क्षेत्रका पन्छी, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ।

    रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। संक्रमण प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नियन्त्रणका प्रयासलाई निरन्तरता दिइएको विभागले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट