विराटनगर । डोजर चलाएर सुकुम्वासी र भूमिहीनलाई बिचल्ली पारेको भन्दै झापा क्षेत्र नं ५ का भूमिहीन सुकुम्वासी आन्दोलित बनेका छन् । आफूले जिताएर पठाएको व्यक्ति नै प्रधानमन्त्री बनेपछि सुकुम्वासी र भूमिहीनहरूलाई बिचल्ली पारेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह झापा ५ बाट अत्यधिक मतका साथ विजयी भएका थिए । शाहलाई निर्वाचित गराएको दुई महिना नबित्दै त्यहाँका मतदाताले उनी विरुद्ध दिनहुँ नारा जुलुस गर्दै आएका छन् । बुधवार झापा ५ को मुख्य सहरी क्षेत्र दमकमा सुकुम्वासीहरूले सरकार विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरे ।
उनीहरूले अर्को बन्दोबस्त नमिलाई वर्षौँदेखि बसोबास गरी रहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठिबास गराउन नहुने बताए । अखिल नेपाल सुकुमबासी सङ्घको आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो । यस अघि झापा ५ मानै पर्ने कमल गाउँपालिकामा समेत सुकुम्वासीहरूले जुलुस सहित विरोध प्रदर्शन गरेका थिए ।
भूमि अधिकार तथा श्रमिक सङ्गठनको आयोजनामा कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासीहरूले सोमबार विरोध र्याली प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका थिए । झापाकै बिर्तामोडमा पनि सुकुम्वासीहरू आन्दोलित बनेका छन् । उनीहरू बसोबास गरी रहेको स्थानबाट जबरजस्ती उठाउनु खोज्न मानवीयता विपरीतको कार्य भएको समेत जनाएका थिए । सुकुम्वासी संयुक्त सङ्घर्ष समितिले र्याली प्रदर्शन गरी स्थानीय सरकारलाई बसोबास गरेकै स्थानमा भूमि स्वामित्व दिलाउन समेत माग गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया