logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति, सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द

    733Shares
    पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति, सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द

    कालीकोट । लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर कर्णाली नदीतर्फ खसेपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ।

    वर्षाका कारण सडकको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन्। सडकको ठुलो भाग नदीतर्फ बग्दा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

    स्थानीय प्रेम चौलागाईका अनुसार केही दिनदेखि परेको अविरल वर्षाले सडक कमजोर बनाएको थियो। मङ्गलबार रातिको वर्षापछि आएको बाढी र पहिरोका कारण सडकको महत्त्वपूर्ण भाग भत्किँदा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानी, बिरामी ओसारपसार तथा स्थानीय जनजीवन प्रभावित भएको छ। वर्षाका कारण ग्रामीण सडकसमेत पूर्ण रूपमा बन्द भएका छन्।

    सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मर्मत तथा पुनर्निर्माणको तयारी थालेको जनाएको छ। तर वर्षा जारी रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन चुनौती रहेको बताइएको छ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार सडक खुलाउने कामका लागि स्काभेटर परिचालन गरिएको छ। धेरै ठाउँमा समस्या भएकाले समय तोक्न नसकिने भए पनि मर्मत कार्य जारी रहेको उहाँले बताउनुभयो।

    स्थानीयवासीले कर्णाली करिडोरजस्तो रणनीतिक महत्वको सडकमा बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। दुई देश जोड्ने यो सडकको मर्मत–सम्भारमा सरकार बारम्बार चुक्ने गरेको उनीहरूको आरोप छ।- प्रेमराज सिम्खडा gorkhapatraonlnine



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट