काठमाडौं । नेपाल तरुण दलको वर्तमान कार्यसमितिमा आवद्ध बहुमत सदस्यहरुले बर्तमान कार्यसमिति शीघ्र भंग गर्नुपर्ने माग राखेका छन् । उनीहरुले केन्द्रीय अधिवेशन गराउन असफल यस कार्यसमितिको विघटन गरी शीघ्र नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान कार्यसमितिले महाधिवेशन गर्न सक्दैन भन्ने निष्कर्षमा बहुमत सदस्यहरु पुगेका छन् । वर्तमान कार्यसमिति चार सय सदस्यीय छ । विद्वान गुरुङ तरुण दलको अध्यक्ष भएको तीन वर्ष भयो । केन्द्रीय समितिमा चारसय जना चयन भएको पनि दुई वर्ष पुगेको छ । एउटा तदर्थ समितिले अधिवेशन गर्न पाउने न्यूनम् समय भनेको ६ देखि आठ महिना हो ।
पार्टीले केही समयअघि एउटा बेहोरा समेत लेखेर चैत मसान्तसम्म अधिवेशन गरिसक्ने र त्यो समयभित्र सम्पन्न भएन भने स्वत: विघटन हुने अन्तिम म्याद दिइसकेको थियो । पार्टीले निर्देश गरेको अन्तिम मिति पनि समाप्त भइसकेको छ । तरुण दलका केन्द्रीय सदस्य रोज राई भन्छन्, ‘अहिले नै हामी वैधानिक छैनौं । अवैधानिक कमिटीले अब अधिवेशन गर्दै जान्छु भन्ने पत्याउने कुरै भएन ।’
पछिल्लो समय लम्जुङमा खुकुरी काण्ड मच्चियो र तरुण दलमै आबद्ध भएकाले कुटाइ खाने अवस्थासम्म भयो । यस अवस्थामा अधिवेशनतिर जानेभन्दा पनि विध्वंसात्मकतिर जाने देखिएको तरुण दलका अधिकांश केन्द्रीय सदस्यहरु दाबी गर्छन् । अब हामी नैतिक हिसाबले पनि यो कमिटीमा बस्ने आवश्यकता छैन । पार्टीले पनि पटकपटक म्याद थपेर असफल बनेको रमिता हेर्नुभन्दा संगठनलाई बचाउने गरी अब नयाँ र चुस्तदुरुस्त रुपमा ६ देखि ८ महिनासम्ममा अधिवेशन गर्ने कमिटी फेरि बनिनुपर्छ ।
यसैक्रमा वर्तमान कार्यसमितिका बहुमत सदस्यहरुले आज पत्रकार सम्मेलन गर्दैछन् । भुृकुटीमण्डपमा भेला भएर उनीहरुले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर पत्रकार सम्मेलन गर्ने भएका हुन् । वर्तमान कार्यसमिति विघटन गरेर नयाँ कार्यसमितिलाई अधिवेशन गर्न दिनुपर्ने माग नै पत्रकार सम्मेलनको विषय हुने बुझिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया