logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

    931Shares
    सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

    चितवन। चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा भएको प्रशिक्षणमा सहभागी माहुतेहरुलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा कानूनी प्रावधानहरूको बारेमा तालिम दिएको हो । कार्यक्रम कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शम्भुप्रसाद मालीका अनुसार बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको सहयोगमा प्रशिक्षण दिइएको हो ।

    चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्तबहादुर मगरले पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्न माहुतेहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सफारीमा चढेका पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्ने बताए । उनले हात्ती सफारी गर्दा निकुञ्जको कानून र हात्तीको स्वास्थ्यमा ख्याल गर्न माहुतेलाई आग्रह गरे ।

    बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बीपी चौधरीले चितवनको सफारी पर्यटनमा हात्ती र माहुते दुवैको भूमिका महत्वपूर्ण रहेको बताए । सफारी पर्यटनकै कारण सामुदायिक वनको आम्दानी उल्लेख्य रहेको भन्दै उनले आम्दानीको अधिकांश हिस्सा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिए ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले अधिकारका कुरा उठाएर सौराहाको सफारी पर्यटन कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ व्यवसायीहरू सचेत रहेको बताए । चितवनको पर्यटन जोगाउन व्यवसायीले हात्ती पालेको भन्दै उनले सफारी पर्यटनको विकासका लागि हात्ती र माहुतेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

    कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्तबहादुर मगरले राष्ट्रिय निकुञ्जका बारेमा जानकारीसहित सफारीका क्रममा वन्यजन्तु देखाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट