पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा छाडिएको छ । बिहीबार अदालतको आदेशपछि ६५ लाख रुपैयाँ बैंक जमानत बुझाएर रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भए । उनलाई पार्टी उपसभापति डोलप्रसाद अर्याल (डीपी) र लामिछाने पत्नी निकिता पौडेलको जिम्मामा प्रहरीले छाडेको हो । लामिछानेसँगै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा धरौटीमा छुटेको अर्का आरोपित छविलाल जोशी पनि रास्वपा उपसभापति अर्यालकै जिम्मामा रिहा भएका हुन् ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार लामिछाने र जोशी दुवैलाई काठमाडौं अदालतमा स्वयं उपस्थित हुनेगरि छाडिएको हो । लामिछानेले ६५ लाख र जोशीले ८८ लाख रुपैयाँ बैंक जमानत बुझाएका हुन् । यस्तै, नेचर हब्र्सका रामबहादुर खनाललाई चाहिँ बहिनी देवीका विष्टको जिम्मामा छाडिएको ओलियाले बताए । खनालले १५ लाख रुपैयाँ जमानत बुझाएर छुटेका हुन् । उनीहरूविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पनि मुद्दा छ ।
सोही मुद्दाकाआरोपित जीबी राईकी सहयोगी लीला पछाई भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन् । सहकारी ठगीको मुद्दा लागेका पूर्वसांसद मीना गुरुङ पाँच लाख, उनका बुबा कृष्णप्रसाद गुरुङ एक लाख र सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङ पाँच लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया