logo

२०८३ भाद्र २५ बिहीबार

logo
  • २०८३ भाद्र २५ बिहीबार
  • गौरीकुमारीलाई राजीनामा होइन, ‘बर्खास्त’ गरिएको अमरेशको दाबी

    715Shares
    गौरीकुमारीलाई राजीनामा होइन, ‘बर्खास्त’ गरिएको अमरेशको दाबी

    काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वेच्छाले राजीनामा दिएको नभई उनलाई जबर्जस्ती पदबाट हटाइएको सत्तारुढ दलका सांसद अमरेशकुमार सिंहले दाबी गरेका छन्।

    बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सिंहले मधेशी भएकै कारण यादवलाई पद छाड्न बाध्य पारिएको आरोप लगाए। उनले यादवको राजीनामालाई बर्खास्तीका रूपमा बुझ्नुपर्ने जिकिर गरे।

    ‘मधेशीलाई हर कुरामा विभेद गरिएको छ,’ उनले भने, ‘दिपक साहलाई बर्खास्त गर्दा होस् या गौरीकुमारीको राजीनामा लिँदा, यसलाई सही रूपमा भन्ने हो भने बर्खास्त नै हो।’ यादव रुँदै गरेको भिडियो आफूले भर्खरै देखेको पनि उनले बताए।

    यादवलाई पदबाट हटाउने प्रक्रिया यसअघि नै सुरु भएको संकेत गर्दै सिंहले उनलाई प्रहरी परिचालन गरेर पक्राउ गराउन खोजिएको प्रसंगसमेत उठाए। ‘माननीय गौरीकुमारी यादवले त्यही दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन प्रहरी परिचालन गरिएको थियो,’ उनले भने।

    सरकारको कार्यशैलीप्रति समेत आक्रोश व्यक्त गरेका सिंहले देश संविधान र विधिअनुसार नभई प्रधानमन्त्रीका सल्लाहकारहरूको ‘हुकुमी शासन’अनुसार चलिरहेको आरोप लगाए।

    प्रधानमन्त्री बालेन्द्र साहका मुख्य सल्लाहकार कुमार बेनतर्फ संकेत गर्दै उनले सरकार सिंहदरबारबाट नभई ज्वागलबाट चलिरहेको टिप्पणी गरे। बेनको भनिएको दिल्ली भ्रमण र त्यहाँ भएको भनिएको भेटवार्ताप्रति पनि उनले प्रश्न उठाए।

    सल्लाहकारको भूमिकामा पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै सिंहले भने, ‘अथोरिटी विदाउट एकाउन्टेबिलिटी एकदम डेन्जर हुन्छ।’ राज्यको ढुकुटीबाट मन्त्रीसरह तलब–भत्ता खाने व्यक्तिले आफ्नो गतिविधिबारे जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।

    सिंहले आफू सल्लाहकार भएको भए दिल्ली जाने कुरा लुकाएर नभई प्रधानमन्त्रीलाई जानकारी गराएर औपचारिक रूपमा वार्ता गर्ने बताएका थिए। उनले सल्लाहकारको भनिएको दिल्ली भ्रमण र भेटवार्ताबारे थप छानबिन तथा जवाफदेहिताको मागसमेत गरेका छन्।