साउन १५ नेपाली समाजमा खीर खाने विशेष परम्पराका रूपमा परिचित दिन हो। माघे सङ्क्रान्तिमा घ्यू–चाकु, असार १५ मा दही–चिउरा खाने परम्परा जस्तै साउन १५ मा खीर खाने चलन पनि नेपाली जीवनशैली, कृषि संस्कृति र मौलिक खानपानसँग गाँसिएको छ। विशेषगरी गाउँघरमा यो परम्परा अझै जीवित छ, जहाँ परिवार, आफन्त र छिमेकीहरू एकै ठाउँमा भेला भएर खीर खाँदै आत्मीयता साट्ने चलन रहिआएको छ।
समयसँगै रोजगारी, अध्ययन र विभिन्न पेशाका कारण गाउँ छाडेर राजधानी तथा अन्य सहरमा बसाइँ सरेका नेपालीका लागि यस्ता परम्परा सम्झनामा मात्र सीमित हुने अवस्था बन्दै गएको थियो। यही गाउँको आत्मीयता र संस्कृतिलाई शहरमै पुनर्जीवित गर्ने उद्देश्यका साथ २०७५ सालमा केही मिल्ने र नियमित भेटघाट हुने साथीहरूले काठमाडौंको अनामनगरमा सामूहिक रूपमा खीर खाने कार्यक्रमको सुरुआत गरेका थिए।
पहिलो वर्ष सामान्य रूपमा आयोजना गरिएको कार्यक्रमले सहभागीहरूबाट राम्रो प्रतिक्रिया पाएपछि त्यसको निरन्तरता अर्को वर्ष पनि रह्यो। “एक कान, दुई कान, मैदान” भनेझैँ कार्यक्रमको चर्चा फैलिँदै गयो। दोस्रो वर्ष सयौँको सहभागितासहित कार्यक्रम अझ भव्य बन्यो। त्यसयता प्रत्येक वर्ष साउन १५ मा अनामनगरमा सामूहिक खीर दिवस मनाउने परम्परा स्थापित हुँदै आएको छ।
यसै क्रमको निरन्तरता स्वरूप २०८३ साल साउन १५ मा अनामनगरस्थित बाजेको सेकुवा प्राङ्गणमा ८औँ राष्ट्रिय खीर दिवस उत्साहका साथ मनाइयो। कार्यक्रममा देशका विभिन्न जिल्ला, समुदाय र पेशामा आबद्ध हजारौँ नेपालीहरूको सहभागिता रहेको खीर दिवसका संस्थापक तथा नेपाली कांग्रेसका नेता मनोजमणि आचार्यले जानकारी दिए।
उनले भने,
“खीर खाने परम्परा हाम्रो नेपाली संस्कृति र पहिचानसँग जोडिएको विषय हो। यही परम्पराको संरक्षण गर्दै आपसी सद्भाव, भातृत्व र सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले हामीले विगत आठ वर्षदेखि सामूहिक खीर खाने कार्यक्रमलाई निरन्तरता दिएका छौँ।”
नेपाली समाजमा साउन १५ मा खीर खाने चलन केवल परिकारको स्वादसँग मात्र सम्बन्धित छैन, यसको वैज्ञानिक र सांस्कृतिक आधार पनि छ। असारभरि धान रोपाइँ गर्दा वर्षामा भिज्ने, कठोर श्रम गर्ने र शरीर थकित हुने भएकाले साउनमा दूध, चामल, घ्यू, सुक्खा फलफूल लगायत पोषणयुक्त सामग्रीबाट बनाइने खीर खानु स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ। यसले शरीरलाई ऊर्जा, पोषण र ताप प्रदान गर्ने विश्वास रहिआएको छ।
यही समयमा वर्षायामका कारण प्रशस्त हरियो घाँस उपलब्ध हुने भएकाले गाई–भैँसीले पनि बढी दूध दिने गर्छन्। त्यसैले दूधबाट बन्ने परिकारहरू खाने परम्परा यस मौसमसँग स्वाभाविक रूपमा जोडिएको देखिन्छ।
आजको तीव्र सहरीकरण र व्यस्त जीवनशैलीका बीच यस्ता सामूहिक कार्यक्रमले हराउँदै गएको गाउँको आत्मीयता, नेपालीपन र सांस्कृतिक एकतालाई पुनः स्मरण गराउने काम गरेका छन्। एउटै थालमा बसेर खीर खानु केवल भोजनको कार्यक्रम होइन, यो सम्बन्ध जोड्ने, नयाँ चिनजान बनाउने, पुराना मित्रसँग भेटघाट गर्ने र नेपाली संस्कृतिप्रतिको अपनत्व अभिव्यक्त गर्ने अवसर पनि हो।
अनामनगरमा सुरु भएको यो अभियान आज आठौँ वर्षमा आइपुग्दा हजारौँ नेपालीलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने राष्ट्रिय अभियानको स्वरूप लिन सफल भएको छ। आगामी दिनमा पनि यस्ता अभियानले नेपाली मौलिक परम्परा संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्व पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया