काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्। उनले शुक्रबार बिहान काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
सभापति पदमा खड्गी र गगन थापाबीच प्रतिस्पर्धा भइरहेको छ। पार्टीको नयाँ नेतृत्व चयनका लागि बिहान करिब ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशन प्रतिनिधिले सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन गर्न मतदान गरिरहेका छन्। निर्वाचनमा कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
निर्वाचन समितिका अनुसार एक प्रतिनिधिलाई मतदान प्रक्रिया पूरा गर्न करिब ३० देखि ४० मिनेटसम्म लाग्ने गरेको छ। मतदानलाई व्यवस्थित बनाउन मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलभित्र लैजान रोक लगाइएको छ।
मतदान सम्पन्न भएपछि मतपेटिकाको सुरक्षित व्यवस्थापन र आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिनेछ। मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानले सभापतिसहित विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारको राजनीतिक भविष्य निर्धारण गर्नेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया