काठमाडौं, असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा अन्य विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीपहिरोमा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो।
विपद्मा परी घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढीपहिरो प्रभावित विभिन्न स्थानबाट हालसम्म ४०७ जनाको उद्धार गरिएको छ।
नेपाल प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा बाढीपहिरोका कारण क्षति पुगेका क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्य भइरहेको छ।
लगातारको वर्षाका कारण अझै पनि विभिन्न स्थानमा बाढी, डुबान र पहिरोको जोखिम रहेकाले सुरक्षा निकाय तथा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाइरहेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया