logo

२०८३ आश्विन २० मंगलवार

logo
  • २०८३ आश्विन २० मंगलवार
  • कीर्तिपुर, पुल्चोक र एकान्तकुना क्षेत्रको भोल्टेज सुध्रिँदै, चोभार सबस्टेसनबाट शुक्रबारदेखि बिजुली दिइने

    727Shares
    कीर्तिपुर, पुल्चोक र एकान्तकुना क्षेत्रको भोल्टेज सुध्रिँदै, चोभार सबस्टेसनबाट शुक्रबारदेखि बिजुली दिइने

    काठमाडौँ — काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन सञ्चालनमा आउने भएको छ। करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइनलाई नेपाल विद्युत् प्राधिकरणले आगामी शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याउने तयारी गरेको छ।

    थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत यो खण्ड सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्तिका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि उपत्यका तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न, भोल्टेज सुधार गर्न र प्रणालीको विश्वसनीयता बढाउन ठूलो सहयोग पुग्नेछ।

    आगामी हिउँदयामको विद्युत् माग व्यवस्थापनलाई ध्यानमा राख्दै प्राधिकरणले गत असोज ८ गते यो लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। चोभार सबस्टेसनमा स्थानीय वितरणका लागि ११ केभीका ९ वटा फिडरहरू तयार गरिएको छ, जसबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित बिजुली मातातीर्थ सबस्टेसन हुँदै उपत्यकामा प्रवाह हुने विकल्प थपिएको हो।

    यसैबीच, चोभारदेखि ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३2 केभी भूमिगत प्रसारण लाइन निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ।
    २७ वर्ष पुरानो आयोजना: ललितपुरमा अझै चुनौती कायमै

    उपत्यकाका तीनै जिल्लालाई समेट्ने गरी १३२ केभी प्रसारण लाइनको ‘रिङ संरचना’ (Ring Structure) निर्माण गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०५५/५६ देखि यो आयोजना सुरु गरिएको थालिएको थियो। काठमाडौँ र भक्तपुरतर्फको काम सम्पन्न भइसके पनि ललितपुरको खोकना, बुंगमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाले मार्ग परिवर्तनको माग गर्दै अवरोध गरेपछि उक्त खण्डको निर्माण अझै ठप्प छ। चोभारसम्म लाइन जोडिनु महत्त्वपूर्ण उपलब्धि भए पनि उपत्यकामा पूर्ण रिङ संरचना बनाउन ललितपुरको अवरुद्ध खण्ड सुल्झाउनु प्राधिकरणका लागि अझै ठूलो चुनौती बनेको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट