काठमाडौं, नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन चीनका राष्ट्रपति सी जिनपिङले निर्देशन दिएका छन्।
चिनियाँ सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले उपलब्ध सबै स्रोतसाधन र क्षमताको प्रयोग गरेर बेपत्ताको खोजी तथा उद्धार गर्न निर्देशन दिएका हुन्। बाढीपहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत नेपालसँग जोडिएको केरुङ नाकासहित सीमा क्षेत्रमा क्षति पुगेको छ।
सीको निर्देशनपछि प्रभावित सीमा क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ। सीमा क्षेत्रमा रहेको चिनियाँ बन्दरगाहमा समेत बाढीपहिरोले ठूलो क्षति पुर्याएको बताइएको छ।
नेपालतर्फ रसुवालगायत सीमावर्ती क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याइरहेका बेला चिनियाँ भूभागतर्फ समेत प्राकृतिक विपत्तिको असर परेको हो। विशेषगरी केरुङ नाका आसपासको पूर्वाधार तथा जनजीवनमा बाढीपहिरोको प्रभाव परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै राष्ट्रपति सीको निर्देशनबारे जानकारी दिएको हो। प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा परेकाहरूको उद्धारका लागि चीनले उपलब्ध उद्धार संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गर्ने तयारी गरेको जनाइएको छ।
नेपाल–चीन सीमाको दुवैतर्फ बाढीपहिरोको असर देखिएपछि सीमावर्ती क्षेत्रको उद्धार तथा पूर्वाधार पुनःस्थापनाको विषय थप महत्वपूर्ण बनेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया