logo

२०८३ भाद्र ४ बिहीबार

logo
  • २०८३ भाद्र ४ बिहीबार
  • अख्तियारमाथि प्रधानमन्त्री कार्यालयको दबाबबारे रास्वपा सांसदको प्रश्न

    703Shares
    अख्तियारमाथि प्रधानमन्त्री कार्यालयको दबाबबारे रास्वपा सांसदको प्रश्न

    काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुद्दा चलाउन दबाब दिइएको भन्ने विषयमा स्पष्ट जवाफ माग गरेका छन्।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै न्यौपानेले अख्तियारका प्रमुख आयुक्त, आयुक्तलगायत पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती मुद्दा चलाउन निर्देशन दिइएको भन्ने विषय सार्वजनिक भएको भन्दै त्यसको सत्यतथ्य स्पष्ट गर्न माग गरे।

    उनले प्रधानमन्त्री कार्यालयबाट गैरकानुनी रूपमा दबाब दिइएको भए अख्तियारका पदाधिकारीले त्यसविरुद्ध औपचारिक उजुरी वा कानुनी प्रक्रिया अघि बढाए–नबढाएको विषयसमेत उठाए।

    ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तपाईंहरूविरुद्ध गैरकानुनी काम गरेको हो भने त्यसका विरुद्ध तपाईंहरूले मुद्दा उठान गर्नुभयो कि भएन? उजुरी कतै हाल्नुभयो कि भएन?’ उनले प्रश्न गरे।

    न्यौपानेले सञ्चारमाध्यममार्फत मात्रै दबाबको विषय सार्वजनिक गर्नु र त्यसविरुद्ध कुनै कानुनी प्रक्रिया अघि नबढाउनु पदाधिकारीको शपथ तथा जिम्मेवारीअनुकूल हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत गरे।

    उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट दबाब दिइएको भन्ने समाचार गलत भए सम्बन्धित सञ्चारमाध्यमविरुद्ध कानुनी प्रक्रिया अघि बढाउनुपर्छ। तर समाचार सत्य भए आयोगका पदाधिकारीले त्यसबारे स्पष्ट रूपमा तथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

    न्यौपानेले अख्तियारजस्तो संवैधानिक निकायले बाह्य दबाबमा परेर अनुसन्धान वा मुद्दा अघि बढाउन नहुने धारणा राख्दै उदाहरणसमेत प्रस्तुत गरे।

    ‘भोलि कुनै निकायले तपाईंहरूलाई प्रेसर गर्‍यो र मेरो सभापतिमाथि मुद्दा उठान गर्दै भनेर ७ घण्टाको ठाउँमा ९ घण्टा राखिदियो भने मुद्दा उठान गर्ने? यो त हुँदैन होला नि,’ उनले भने।

    उनको प्रश्नले अख्तियारमाथि राजनीतिक वा प्रशासनिक दबाब परेको भन्ने सार्वजनिक चर्चालाई संसदीय समितिमा थप बहसको विषय बनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट