काठमाडौं, साउन २१ — सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक सद्भाव र आपसी भाइचारा सुदृढ गर्ने उद्देश्यले आयोजित संयुक्त श्रद्धाञ्जली कार्यक्रम राजनीतिक विवादका कारण केहीबेर प्रभावित भएको छ।
सुनसरी र सिरहामा भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मूल उद्देश्य शान्ति, सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गर्नु थियो।
तर, कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवले गोलबजारका केही राजनीतिक दल र व्यक्तिलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि वातावरण तनावग्रस्त बनेको हो।
सांसद यादवले स्थानीय केही राजनीतिक दल र व्यक्तिका कारण घटना भएको भन्ने आशय व्यक्त गरेपछि कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच भनाभन सुरु भएको थियो। विवाद बढ्दै गएपछि कार्यक्रम केहीबेर अवरुद्धसमेत भएको थियो।
स्थिति थप असहज बन्न नदिन नेपाल प्रहरीले हस्तक्षेप गर्दै सांसद यादवलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।
सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम राजनीतिक आरोप–प्रत्यारोपका कारण विवादमा तानिएपछि स्थानीय स्तरमा यसको चर्चा सुरु भएको छ। आयोजकहरूले भने कार्यक्रमको मूल उद्देश्य समुदायबीच विश्वास र एकता कायम गर्नु रहेको बताएका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया