सिरहा — सिरहा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक पिकअप भ्यानसहित तीन जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–३ नयाँ बस्ती टोलस्थित एक घरको कम्पाउण्डबाट करिब ६५२ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन ६ गते अपराह्न करिब ४:३० बजे लागूऔषध बोकेको गाडी एक घरको कम्पाउण्डमा पार्किङ गरेर राखिएको भन्ने विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो, गोलबजारको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले नयाँ बस्ती टोलस्थित श्यामकुमारी साहको घरअगाडिको कम्पाउण्डमा पार्किङ अवस्थामा रहेको बा.२१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा ३१ बोरामा प्याक गरिएको तथा थप दुई वटा प्लास्टिकको पोका गरी जम्मा करिब ६५२ केजी गाँजा फेला पारेको जनाएको छ।
बरामद गरिएको गाँजा र पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आशंकामा लहान–३ नयाँ बस्तीकी ३८ वर्षीया श्यामकुमारी साह, भारतको बिहार राज्यका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया