चितवन । अविरल वर्षासँगै पहिरो र लेदो खस्ने जोखिम अत्यधिक बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति सूचना जारी गर्दै सडकको विभिन्न स्थानमा जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकमार्फत यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा निरन्तरको वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो तथा माथिबाट लेदो खस्ने क्रम जारी रहेकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यात्रा स्थगित गर्न अनुरोध गरिएको उल्लेख छ।
यता सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानसहित विभिन्न स्थानमा लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम कायम रहेको र सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको कार्यालयले जनाएको छ।
सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै एम्बुलेन्समार्फत उनीहरूलाई सडकको जोखिमपूर्ण क्षेत्र पार गराउने व्यवस्था गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। साथै अलपत्र परेका एम्बुलेन्ससहित अन्य सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने काम जारी रहेको जानकारी दिइएको छ।
प्रशासनले अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचना पछ्याउन र अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया