काठमाडौं । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती मृत अवस्थामा फेला परेका छन्। उनीहरूको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा एउटै रुखमा छुट्टाछुट्टै पासोमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
मृतकहरू पर्साको बहुदरमाई–८ रामनगरीका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०:३० बजे वन समितिका प्रतिनिधिहरूले सल्लाको खोटो संकलनका क्रममा वन अनुगमन गर्दा मौवाको रुखमा झुण्डिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले सलको पासो लगाएर झुण्डिएको अवस्थामा दुवै जनाको सडेको शव फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार शवहरू धेरै दिनअघिदेखि झुण्डिएको देखिएकाले घटना पुरानो हुन सक्ने अनुमान गरिएको छ। शव सडेर टाउको बाहेकका केही भाग जमिनमा खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानबाट बरामद कपडा, कागजात तथा परिवार र साथीभाइसँगको रुजुका आधारमा मृतकहरूको पहिचान गरिएको हो।
शक्ति राम वैशाख १९ गतेदेखि दुई दिनको बिदामा गएका थिए भने शर्मिला चौधरी वैशाख १८ गते उनलाई भेट्न काभ्रेपलाञ्चोक जाने भन्दै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। शक्तिरामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नम्बर हेडक्वार्टर पाँचखालमा तथा शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। दुवै शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया