logo

२०८३ भाद्र २९ सोमबार

logo
  • २०८३ भाद्र २९ सोमबार
  • हरितालिका तिज आज, शिव–पार्वतीको पूजा आराधना गरी मनाइँदै

    730Shares
    हरितालिका तिज आज, शिव–पार्वतीको पूजा आराधना गरी मनाइँदै

    काठमाडौँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तिज पर्व। हिन्दु धर्मावलम्बी महिलाहरूले आज महादेवको पूजा–आराधना तथा व्रत बसेर तिज पर्व मनाउँदैछन्।

    धार्मिक मान्यताअनुसार भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।

    पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। पार्वतीको इच्छाविपरीत पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएको धार्मिक मान्यता छ।

    साथीहरूले लुकाएको स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरेपछि उनलाई पति रूपमा प्राप्त गरेको विश्वास गरिन्छ। पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले सोही दिनदेखि हरितालिका तिजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ।

    ‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ दुई शब्दबाट बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ।

    धर्मशास्त्रविद्हरूका अनुसार तिजमा अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्छ भन्ने छैन। व्रतका निराहार, जलाहार र फलाहार गरी तीन प्रकार छन्। शारीरिक अवस्था र क्षमताअनुसार निराहार, जलाहार वा फलाहार व्रत बस्न सकिने धार्मिक मान्यता छ।

    परम्परागत रूपमा महिलाहरूले परिवारको सुख, शान्ति र कल्याणका लागि तिजको व्रत लिने गरे पनि स्वास्थ्य अवस्था तथा अन्य कारणले महिलाले व्रत बस्न नसक्ने अवस्थामा पुरुषले समेत व्रत बस्ने प्रचलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

    समग्रमा तिजको व्रत व्यक्तिगत मनोकामना पूरा हुनुका साथै परिवारको सुख, शान्ति, कल्याण र समृद्धिको कामनाका लागि लिइने धार्मिक पर्वका रूपमा मानिन्छ। धर्मशास्त्रीय मान्यताअनुसार तिजको व्रत नित्य र काम्य दुवै प्रकारको मानिन्छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट