logo

२०८३ मंसिर १४ आईतवार

logo
  • २०८३ मंसिर १४ आईतवार
  • कांग्रेसको आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी, फेरि सभापति र प्रधानमन्त्री नबन्ने घोषणा

    829Shares
    कांग्रेसको आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी, फेरि सभापति र प्रधानमन्त्री नबन्ने घोषणा

    सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन् ।

    आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समूहको प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका हुन् ।

    उनले कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बहस नगर्ने बताए ।

    उनले भने, ‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ । अदालतमा विचाराधीन रहेको मुद्दामा धेरै बहस नगरौँ । तर, अदालतले हामीलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छु । अहिले कांग्रेसको सभापति मै हुँ । महाधिवेशनपछि अर्को साथी सभापतिका रूपमा आउनुहुन्छ ।’

    देउवाले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।

    आफूलाई पार्टी र देशका जनताले धेरै अवसर दिएको उल्लेख गर्दै उनले अब पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा नदोहोरिने घोषणा गरे ।

    ‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसक्नुभयो । अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री,’ उनले भने ।

    प्रदेशस्तरीय अधिवेशनलाई कांग्रेस नेता डा. शशांक कोइरालालगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।

    यसअघि देउवा समूहले सुर्खेत जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्ला सभापतिमा ललित भट्टराई निर्विरोध निर्वाचित भएका छन् । देउवा समूहले कर्णाली प्रदेशको सभापति पनि निर्विरोध चयन गर्ने तयारी गरेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट