काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्रको खपतपछि बचत भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरेको हो ।
प्राधिकरणले अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यस्तै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात हुँदै आएको छ ।
नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् निर्यात भइरहेको छ । प्रत्येक वर्ष वर्षायामका छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने गरेको छ ।
प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार, पहिलो चार महिनामा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।
कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ । उक्त महिनामा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो ।
त्यस्तै, असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात भएको थियो । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको विद्युत् कारोबार भएको थियो । असोजमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन र प्रसारणतर्फका संरचनामा क्षति पुगेकाले निर्यात प्रभावित भएको बताए । बाढीका कारण केही आयोजनाको उत्पादन बन्द भएको उनको भनाइ छ ।
निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको उनले बताए ।
गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।
गत आवमा विद्युत् आयातको तुलनामा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल लगातार दुई वर्षदेखि विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया