बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले गाँजासहित एउटा गाडी बरामद गरेको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर रोक्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए ।
त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाडीलाई पछ्याएको थियो । प्रहरीको पीछा गर्ने क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए ।
प्रहरीले जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गरे पनि चालक फेला पार्न सकेन । चालक भागेको दिशातर्फबाट एउटा किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको गाडीको पछाडिको डिक्की जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको २३७.१७० ग्राम गाँजा बरामद भएको हो ।
प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया