सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समूहको प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका हुन् ।
उनले कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बहस नगर्ने बताए ।
उनले भने, ‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ । अदालतमा विचाराधीन रहेको मुद्दामा धेरै बहस नगरौँ । तर, अदालतले हामीलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छु । अहिले कांग्रेसको सभापति मै हुँ । महाधिवेशनपछि अर्को साथी सभापतिका रूपमा आउनुहुन्छ ।’
देउवाले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।
आफूलाई पार्टी र देशका जनताले धेरै अवसर दिएको उल्लेख गर्दै उनले अब पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा नदोहोरिने घोषणा गरे ।
‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसक्नुभयो । अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री,’ उनले भने ।
प्रदेशस्तरीय अधिवेशनलाई कांग्रेस नेता डा. शशांक कोइरालालगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।
यसअघि देउवा समूहले सुर्खेत जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्ला सभापतिमा ललित भट्टराई निर्विरोध निर्वाचित भएका छन् । देउवा समूहले कर्णाली प्रदेशको सभापति पनि निर्विरोध चयन गर्ने तयारी गरेको जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया