धादिङ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सोमबार राति ११ बजे खसेको पहिरोका कारण मंगलबार बिहान ७ बजेसम्म पनि सडक सञ्चालनमा आउन सकेको छैन।
पहिरोका कारण तिहार मनाउन गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने सडकमा सवारीसाधनको लामो जाम लागेको छ। पहिरो ठूलो भएकाले सडक खुलाउन केही समय लागेको हो।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो हटाउने काम अन्तिम चरणमा पुगेको छ। केहीबेरमै सडक सञ्चालनमा आउने योजनाले जनाएको छ।
यसअघि सोमबार पनि सोही सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। लगातार पहिरो खस्दा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया