खोटाङ । नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशनले रोजन राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। दुई दिनसम्म चलेको अधिवेशनले जिल्ला नेतृत्वसँगै ३४ जना महाधिवेशन तथा महासमिति सदस्यसमेत सर्वसम्मत निर्वाचित गरेको हो।
कात्तिक १७ गते भव्य रूपमा उद्घाटन गरिएको अधिवेशनबाट कात्तिक १८ गते राई जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्। अधिवेशनले पार्टीभित्र सहमति जुटाउँदै जिल्ला कार्यसमितिका अन्य पदाधिकारीसमेत चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा खिलाराज राई (दीपक) र केशव राई चयन भएका छन्। त्यस्तै, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की सर्वसम्मत निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत महाप्रसाद आचार्यका अनुसार अधिवेशनले जिल्ला नेतृत्वसहित ३४ जना महाधिवेशन तथा महासमिति सदस्य चयन गरेको हो।
यसअघि जिल्ला अधिवेशन तयारी समितिले स्थगित प्रदेशसभा क्षेत्रीय तथा प्रदेश अधिवेशनसमेत कात्तिक १७ गते गर्ने निर्णय गरेको थियो। सोहीअनुसार दिक्तेल बजारमा अधिवेशन उद्घाटनसहित पार्टीका संगठनात्मक गतिविधि अघि बढाइएको थियो।
नयाँ नेतृत्व चयनसँगै नेपाली कांग्रेस खोटाङले जिल्ला संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने जिम्मेवारी पाएको छ। कार्यकर्ताबीच एकता कायम गर्दै पार्टीका आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउनु नवनिर्वाचित नेतृत्वका लागि प्रमुख चुनौती र जिम्मेवारीका रूपमा रहनेछ।
सर्वसम्मत रूपमा नेतृत्व चयन हुनुले अधिवेशनमा सहमतिको प्रयास भएको देखाएको छ। नेपाली कांग्रेस खोटाङले पनि नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र एकता र संगठन सुदृढीकरणको सन्देश प्रवाह भएको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया