logo

२०८३ आश्विन २७ मंगलवार

logo
  • २०८३ आश्विन २७ मंगलवार
  • बूढीगण्डकी बाढी अपडेट: ९ विदेशीसहित ६२ जनाको सेनाको हेलिकप्टरबाट उद्धार, ५ बेपत्ता र ५४ घर पूर्ण रूपमा नष्ट

    847Shares
    बूढीगण्डकी बाढी अपडेट: ९ विदेशीसहित ६२ जनाको सेनाको हेलिकप्टरबाट उद्धार, ५ बेपत्ता र ५४ घर पूर्ण रूपमा नष्ट

    काठमाडौँ — गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकैको उड्लुङ खोलाबाट आएको लेदो र गेग्रानसहितको भीषण बाढीले बूढीगण्डकी नदी तटीय क्षेत्रमा ठुलो विनाश मच्चाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (असोज २५ गते आइतबार) साँझ सार्वजनिक गरेको आधिकारिक विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा फसेका ९ जना विदेशी पर्यटकसहित ६२ जना नागरिकलाई नेपाली सेनाका ४ वटा हेलिकोप्टरमार्फत सुरक्षित उद्धार गरिएको छ।
    प्राधिकरणको प्रारम्भिक विश्लेषणअनुसार उड्लुङ खोलाको पहिरोले केही समय बूढीगण्डकी थुनिएपछि आएको आकस्मिक बाढीका कारण चुम्चेतको उड्लुङ निवासी २ महिला र ३ पुरुष गरी ५ जना स्थानीय अझै सम्पर्कविहीन छन्। बेपत्ताहरूको खोजीका लागि ड्रोन प्रविधिसहित भूगर्भविद्को ३ सदस्यीय टोली घटनास्थलमा परिचालन गरिएको छ।

    भौतिक क्षतिको भयावह अवस्था
    बाढीले नदी तटीय क्षेत्रका पूर्वाधार पूर्ण रूपमा सोतसुत्त पारेको छ। प्राधिकरणका अनुसार बाढीबाट हालसम्म:
    ५४ वटा घर पूर्ण रूपमा र २७ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
    २ वटा पक्की (मोटरेबल) पुल, २ वटा झोलुङ्गे पुल, ३ वटा जलविद्युत् संरचना र ४ वटा भवनकुण्ड बगेका छन्।
    ३४ वटा गोठ, १२ वटा बगर तथा खेतबारी र ३ वटा सवारीसाधनमा क्षति पुगेको छ।
    ३०६ सुरक्षाकर्मी र ब्यापक राहत सामग्री परिचालन

    बाढीको सूचना प्राप्त हुनासाथ गृह मन्त्रालय र प्राधिकरणको समन्वयमा कमान्ड पोस्ट गठन गरी ३०६ जना सुरक्षाकर्मी (नेपाली सेनाका १२७, नेपाल प्रहरीका १४३ र सशस्त्र प्रहरीका ३६ जना) लाई खोज तथा उद्धारमा खटाइएको छ। प्रभावित क्षेत्रमा सडक र हेलिकोप्टरमार्फत ५० थान पाल, ५० थान त्रिपाल, २०० थान म्याट्रेस, २०० थान ब्ल्याङ्केट, २०० थान स्लिपिङ ब्याग, १०० थान सोलार लाइट, जेनेरेटर र खाद्यान्नसहितका सामग्री पठाइएको छ।
    घाइतेहरूको तत्काल उपचारका लागि गोरखा, लमजुङ र तनहुँका प्रादेशिक अस्पतालका आकस्मिक चिकित्सकीय द्रुत प्रतिकार्य टोली (RRT) लाई अलर्ट अवस्थामा राखिएको छ। जलविज्ञान केन्द्रबाट बिहान ६ बजे नै बाढीको पूर्वसूचना प्राप्त भएकाले गोरखादेखि चितवनको बेनीघाटसम्मका तटीय बासिन्दालाई मोबाइल एसएमएस (SMS) मार्फत सचेत गराउँदा ठुलो मानवीय क्षति टरेको प्राधिकरणले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट