बर्दघाट — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित ‘यस मोड’ नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनाको समयमा बसमा करिब ४० देखि ४५ जना यात्रुहरू सवार थिए। बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ३९ जी २८७६) को पछाडिको भागमा समेत सामान्य ठक्कर लागेर क्षति पुगेको छ।
घाइतेहरूको नगर अस्पतालमा उपचार हुँदै
दुर्घटनामा घाइते भएका सातै जनालाई तत्काल उद्धार गरी उपचारका लागि चिसापानीस्थित बर्दघाट नगर अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। बस सडकमै पल्टिए पनि प्रहरीले तदारुकताका साथ व्यवस्थापन गरेकाले पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको र सवारीसाधनहरू नियमित रूपमा चलिरहेको प्रहरीले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया