काठमाडौँ — ओमानमा भइरहेको आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडामाथि २४ रनको रोमाञ्चक जित हात पारेको छ । पूर्वकप्तान रोहित पौडेलको शतकीय र गुलशन झाको महत्त्वपूर्ण इनिङ्सको मद्दतले नेपालले सिरिजमा विजयी सुरुआत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १२५ बलमा ८ चौका र १ छक्काको मद्दतले १०१ रन बनाए ।रोहितको ओडीआई करियरमा यो तेस्रो शतक हो । यसअघि उनले सन् २०२२ मा पिएनजीविरुद्ध १२६ र २०२५ मा युएईविरुद्ध १०९ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै, गुलशन झाले ४८ रन, बसिर अहमदले ३० रन र अर्जुन कुमालले २३ रन जोडे क्यानडाका बलर अखिल कुमारले ४ तथा सुख्जिन्द सिंहले ३ विकेट लिए ।
२३६ रनको लक्ष्य पछ्याएको क्यानडा नेपाली बलरहरूको कसिलो बलिङका कारण ४८.४ ओभरमा २११ रनमै समेटियो । क्यानडाका लागि एरोन जोनसनले सर्वाधिक ४४ रन, समित पटेलले ३५ रन र अखिल कुमारले अविजित ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । क्यानडालाई सस्तैमा समेट्न नेपालका बलरहरू नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए ।
नेपालले अब सिरिजको आफ्नो दोस्रो खेलमा आगामी मङ्गलवार घरेलु टोली ओमानको सामना गर्नेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया