खोटाङ। नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएपछि खोटाङमा पार्टी छाड्ने नेताहरूको क्रम बढेको छ। आज काठमाडौंस्थित सानेपामा सभापतिको हैसियतमा गगन थापाले पार्टीलाई सम्बोधन गरिरहँदा खोटाङमा भने जिल्ला समन्वय समितिमा निर्वाचित सदस्य कला राईले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेकी छन्।
गगन थापा सभापति बनेपछि खोटाङमा जिल्ला तहका नेतादेखि स्थानीय तहका पदाधिकारीसम्मले पार्टी छाडेका छन्। पार्टीका जिल्ला सहसचिव सार्जन राई, संगठन विभाग प्रमुख तथा पूर्वक्षेत्रीय सभापति विष्णुराज राई, महाधिवेशन प्रतिनिधि रुद्र गिरी, जिल्ला सदस्य एवं वडाध्यक्ष जेफर राई, जिल्ला सदस्य तथा पूर्वक्षेत्रीय सचिव श्यामकुमार राई, वडा सभापति सन्तोष चाम्लिङ, पूर्व गाउँपालिका सभापति एकराज राई हुँदै जिल्ला समन्वय समिति सदस्य कला राईले समेत पार्टी परित्याग गरेकी छन्।
एउटै जिल्लाबाट यति ठूलो संख्यामा जिल्ला तहका नेता तथा कार्यकर्ताले पार्टी छाड्नु सामान्य राजनीतिक घटना होइन। तर, खोटाङ कांग्रेसका शीर्ष नेताहरू भने संगठन बलियो बनाउनेभन्दा पद र गुटको लडाइँमा व्यस्त देखिन्छन्।
अझ अचम्मको कुरा त के छ भने, केन्द्रमा गगन थापालाई मतदान गरेर फर्किएका महाधिवेशन प्रतिनिधिहरू कला राईले पार्टी परित्याग गर्दा दशैँमा केटाकेटी रमाएजस्तो खुसीयाली मनाउँदै उनलाई बधाई दिइरहेका छन्। राईलाई बधाई तथा शुभकामना दिने यसपटकका महाधिवेशन प्रतिनिधि मिना कार्की र अञ्जना बस्नेत हुन्।
यो बधाई देख्दा एउटा अनुमान गर्न सकिन्छ कि त उनीहरूको छाती पहाडभन्दा ठूलो छ, कि त राजनीतिका ‘र’ बुझ्न बाँकी छ।
यता, खोटाङ कांग्रेसमा नेतृत्वको आधिकारिकतामाथि समेत प्रश्न उठेको छ। लामो समय कारबाहीमा परेका विष्णुकुमार राई कारबाही फुकुवापछि जिल्ला सभापति बनेका थिए। तर, असोज १५ गते महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेपछि उनको सभापति पद स्वतः खारेज भएको देखिने दाबी गरिएको छ। यसैबीच, उक्त मितिमा उम्मेदवार नबनेका केही नेताहरू देउवा समूहले अघि बढाइरहेको नियमित अधिवेशनमा व्यस्त छन्।
यसरी हेर्दा खोटाङ कांग्रेसमा आधिकारिक नेतृत्वको अवस्थाबारे अन्योल देखिएको छ। केन्द्रमा नयाँ सभापतिले पार्टीलाई सम्बोधन गरिरहँदा खोटाङमा भने नेताहरूको बहिर्गमन, गुटगत प्रतिस्पर्धा र नेतृत्व विवादले कांग्रेसको संगठनात्मक अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया