logo

२०८३ आश्विन २४ शनिबार

logo
  • २०८३ आश्विन २४ शनिबार
  • गगन थापा समूहको महाधिवेशन स्थलबाट केन्द्रीय सदस्यकी उम्मेदवार बिनिता खड्का प्रहरी नियन्त्रणमा

    805Shares
    गगन थापा समूहको महाधिवेशन स्थलबाट केन्द्रीय सदस्यकी उम्मेदवार बिनिता खड्का प्रहरी नियन्त्रणमा

    इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै ठगी गरेको आरोप, यसअघि चार जना पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गगन थापा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई प्रहरीले शुक्रबार राष्ट्रिय सभागृह नजिकैबाट पक्राउ गरेको हो।

    वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको घटनामा संलग्नता खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिएका छन्।

    प्रहरीका अनुसार इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुली गरी करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त प्रकरणमा खड्काले समेत ठगीबाट प्राप्त रकम बाँडफाँड गरेर लिएको खुलेको एसएसपी जबराले बताएका छन्।

    यसअघि प्रहरीले सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगी गरिएको आरोप उनीहरूमाथि लागेको छ।

    प्रहरी अनुसन्धानअनुसार दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयान दिएकी छन्। चौलागाईंलाई असोज १ गते रामेछापको मन्थलीबाट पक्राउ गरिएको थियो।

    वैदेशिक रोजगारीका लागि नेपालबाट इजरायलमा कामदार पठाउने प्रक्रियाअन्तर्गत सरकारले सन् २०२४ मा परीक्षा सञ्चालन गरेको थियो। लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए। त्यसबेला छनोटमा नपरेका १५६ जनालाई समेत इजरायल पठाइदिने भन्दै चौलागाईं नेतृत्वको समूहले रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

    महाधिवेशनको राजनीतिक सरगर्मीका बीच गगन थापा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी खड्का ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परेपछि यो घटनाले कांग्रेसको महाधिवेशनलाई समेत चर्चामा ल्याएको छ। यद्यपि, खड्कामाथि लागेको आरोपबारे अन्तिम कानुनी निष्कर्ष आउन बाँकी छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट