logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • ‘१० सेकेन्डले बाँचें’ : बाढी आउँदैछ भन्दै माइकिङ गरिरहेका प्रहरीको भयावह अनुभव

    724Shares
    ‘१० सेकेन्डले बाँचें’ : बाढी आउँदैछ भन्दै माइकिङ गरिरहेका प्रहरीको भयावह अनुभव

    काठमाडौं, रसुवाको बेत्रावतीमा बाढी आउन लागेको सूचना दिँदै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेका प्रहरीहरू एक्कासि आएको बाढीमा परेका छन्। स्थानीयलाई सचेत गराउन माइकिङ गरिरहेका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

    रिजालका अनुसार असई रामकाजी पौडेलको कमान्डमा प्रहरी टोली बाढीको जोखिममा रहेका बस्तीमा पुगेर माइकिङ गरिरहेको थियो। सडक तथा नदी किनारमा रहेका स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दैगर्दा एक्कासि ठूलो बाढी आएपछि टोली नै तितरबितर भएको उनले बताए।

    ‘माइकिङ गर्दै थियौँ, त्यही बेला एक्कासि यति ठूलो बाढी आयो कि सोच्नै सकिएन,’ रिजालले भने, ‘घरमा सुतेका, बसेका र खाँदै गरेका मानिससमेत बाढीमा बगे।’

    आफू मोटरसाइकलमा रहेको र बाढी आएको देखेपछि मोटरसाइकल त्यहीँ छाडेर जंगलतर्फ भागेको उनले बताए। केही सेकेन्ड ढिला भएको भए आफू पनि बाढीमा पर्ने अवस्था रहेको उनको भनाइ छ।

    ‘१० सेकेन्डले बाँच्न सफल भएँ,’ उनले भने, ‘बाँच्नु नै ठूलो रैछ यस्तो बेला।’

    रिजालसँगै माइकिङमा खटिएका असई रामकाजी पौडेल भने बाढी आएपछि सम्पर्कविहीन छन्। उनको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको रिजालले बताए।

    बाढीपछि आफू अहिले जंगलमा बसिरहेको र सुरक्षित स्थानमा जाने अवस्था नरहेको उनले बताए। बेत्रावती क्षेत्रमा रहेका धेरै घर बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको उनको भनाइ छ।

    ‘यहाँ करिब ७० वटा घर थिए होलान्। अहिले कुनै पनि घर सग्लो छैनन्,’ रिजालले भने।

    बाढीले बालबालिका तथा विद्यार्थीसमेत बगाएको हुनसक्ने उनले बताए। यद्यपि कति जना बेपत्ता भए भन्ने यकिन विवरण आउन नसकेको उनको भनाइ छ।

    ‘कति बालबालिका बगे, कति विद्यार्थी बगे भन्ने यकिन छैन। आँखै अगाडि धेरै मानिस बगे,’ उनले भने।

    यसैबीच रसुवामा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीमा परेर अहिलेसम्म सात जनाको शव संकलन गरिएको सुरक्षा निकायले जनाएको छ। केही घाइतेको उद्धार गरी उपचार भइरहेको छ।

    बाढीको खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्। हेलिकप्टर, ड्रोन तथा तालिमप्राप्त कुकुरसहितका टोलीसमेत खोजीमा प्रयोग गरिएको छ। मेडिकल टोलीलाई पनि प्रभावित क्षेत्रमा खटाइएको छ।

    बाढीमा सुरक्षाकर्मीसमेत ठूलो संख्यामा प्रभावित भएका छन्। नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना गरी ४१ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताएका छन्।

    रसुवासँगै नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा समेत बाढीले क्षति पुर्‍याएको छ। सम्पर्कविहीनको खोजी र प्रभावितको उद्धार कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।

     



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट