logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • एमालेसँगको सहकार्य तोडेर नयाँ समीकरण खोज्ने रणनीति उल्टिएपछि आफ्नै सरकार जोगाउन कांग्रेसको दौडधुप

    1.8KShares
    एमालेसँगको सहकार्य तोडेर नयाँ समीकरण खोज्ने रणनीति उल्टिएपछि आफ्नै सरकार जोगाउन कांग्रेसको दौडधुप

    काठमाडौं । प्रदेश सरकारको सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसभित्र नेतृत्वको राजनीतिक रणनीतिमाथि प्रश्न उठ्न थालेको छ। एमालेसँगको सत्ता सहकार्य तोडेर नेकपासँग नयाँ समीकरण बनाउने प्रयास अन्ततः कांग्रेसकै लागि संकटको कारण बनेको भन्दै पार्टीभित्रैबाट नेतृत्वको आलोचना सुरु भएको छ।

    यही सन्दर्भमा कोशी प्रदेश नेपाली कांग्रेसका महामन्त्री भूपेन्द्र राईले सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृत्वप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले चुनावी हारको दोष मतदातालाई नभई नेतृत्वको निर्णय र रणनीतिलाई दिनुपर्ने संकेत गरेका छन्।

    राईले आफ्नो स्टाटसमा लेखेका छन्, “सत्य के हो भने चुनावमा प्रतिस्पर्धा गर्नु हार्न–जित्नकै लागि हो। हारेपछि मतदातालाई होइन, आफ्नो कमजोरीलाई हेर्नुपर्छ। जति हार्दै गए पनि सरकार बनाउन सकिन्छ भन्ने मानसिकताले पार्टी प्रदेशसभामा प्रमुख प्रतिपक्षीविहीन भयो। प्रदेश सरकारमा झुन्डिँदै नेपाली कांग्रेस अब प्रमुख प्रतिपक्षीमा पुग्नु परेको छ। यो हाम्रो राजनीतिक गल्ती हो, यसलाई नसुधारे भविष्य अझ कठिन हुनेछ।”

    उनको यो अभिव्यक्ति आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको निर्णयसँग जोडिएर आएको हो। बैठकले प्रदेशको वस्तुस्थितिअनुसार सत्ता गठबन्धन कायम राख्न तथा आवश्यक परे अन्य दलसँग संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको थियो।

    राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसले केही समयअघि एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ समीकरण बनाउने प्रयास गरेको थियो। तर अहिले एमाले र नेकपा पुनः पाँच प्रदेशमा सत्ता साझेदारी गर्ने सहमतिमा पुगेपछि कांग्रेस नेतृत्वमा रहेका बागमती र सुदूरपश्चिम सरकारसमेत संकटमा परेका छन्। मधेस र गण्डकीमा भने तत्काल सरकार सुरक्षित देखिए पनि अन्य प्रदेशमा कांग्रेसको सत्ता निरन्तरतामाथि प्रश्न उठेको छ।

    यही परिस्थितिमा कांग्रेस नेतृत्व सरकार जोगाउने प्रयासमा जुटिरहेका बेला पार्टीभित्रैबाट आएको भूपेन्द्र राईको टिप्पणीलाई नेतृत्वको राजनीतिक निर्णयमाथिको असन्तुष्टि र आत्मसमीक्षाको संकेतका रूपमा हेरिएको छ।

    कांग्रेसले अहिले प्रदेशगत राजनीतिक अवस्थाअनुसार सबै दलसँग संवाद गर्ने नीति लिएको भए पनि सत्ता समीकरणमा भएको पछिल्लो परिवर्तनले पार्टीलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ। यस्तो बेला आफ्नै नेताबाट सार्वजनिक रूपमा आएको आलोचनाले कांग्रेसभित्र रणनीति र नेतृत्वको भूमिकामाथि बहस अझ तीव्र बनाउने देखिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट