काठमाडौं । भोटेकोसी बाढीपछि १६ दिनसम्म खोजी गर्दा पनि फेला नपरेका इन्जिनियर दम्पतीसहित उनीहरूका दुई सन्तानको परिवारले अन्तिम संस्कार गरेको छ । परिवारले बिहीबार (भदौ २५) हिन्दु परम्पराअनुसार चारैजनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९, तित्याङका ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिती बाढीपछि बेपत्ता भएका थिए ।
१६ दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो । राजेश परिवारका एक्ला छोरा थिए ।
यसैबीच, बाढीपछि अझै १६ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जना अझै सम्पर्कविहीन छन् ।
बेपत्ताहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया