logo

२०८३ असार १९ शुक्रबार

logo
  • २०८३ असार १९ शुक्रबार
  • ‘शिक्षामा ठूलो लगानी’ : खोटेहाङले १ करोड ६५ लाख खर्चेर विद्यालयलाई बनायो प्रविधिमैत्री

    730Shares
    ‘शिक्षामा ठूलो लगानी’ : खोटेहाङले १ करोड ६५ लाख खर्चेर विद्यालयलाई बनायो प्रविधिमैत्री

    खोटाङ । खोटेहाङ गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले १ करोड ६५ लाख रुपैयाँको लगानीमा सूचना प्रविधि (आईसिटी) सामग्री वितरण गर्नुका साथै विद्यालयको सुरक्षा सुदृढ गर्न घेराबार निर्माण गरेको हो।

    ‘समावेशी, स्वावलम्बी र समृद्ध खोटेहाङ’ निर्माणको लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई स्मार्ट बोर्ड, प्रिन्टर, ल्यापटप र लेमिनेसन मेसिन हस्तान्तरण गरिएको छ। यससँगै तीन वटा माध्यमिक र पाँच वटा आधारभूत विद्यालयमा कम्पाउण्ड निर्माण गरी विद्यालय परिसरलाई सुरक्षित बनाइएको छ।

    गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले शिक्षामा गरिएको लगानी भविष्यमा प्रत्यक्ष रूपमा गुणस्तरीय जनशक्ति उत्पादनसँग जोडिएको बताए। उनले अब परम्परागत शिक्षण शैली मात्र पर्याप्त नहुने उल्लेख गर्दै शिक्षकहरूले समयअनुसार प्रविधिको प्रयोगमा दक्ष हुनुपर्नेमा जोड दिए।

    “अब पाठ्यपुस्तकमा मात्रै सीमित भएर शिक्षण सफल हुँदैन। विद्यार्थीलाई आधुनिक सिकाइ वातावरण दिन शिक्षकहरू पनि प्रविधिमैत्री बन्नैपर्छ,” अध्यक्ष राईले भने।

    उपाध्यक्ष रुपेश राईले गाउँपालिकाले सुरुदेखि नै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्दै आएको उल्लेख गर्दै आधुनिक शिक्षा प्रणाली निर्माणका लागि यो अभियान निरन्तर रहने बताए। उनका अनुसार आगामी दिनमा पनि विद्यालयहरूको प्रविधिगत क्षमता अभिवृद्धि गर्ने योजना रहेको छ।

    सामाजिक विकास समिति संयोजक बसन्त राईले गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेकाले त्यसको प्रतिफल देखिने गरी शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताए। प्रतिस्पर्धात्मक शिक्षा प्रणालीमा कामचलाउ प्रवृत्तिले सफलता नदिने भएकाले सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    कार्यक्रमअन्तर्गत सात माध्यमिक विद्यालयका लागि १५ र ११ आधारभूत विद्यालयका लागि ११ गरी कुल २६ वटा स्मार्ट बोर्ड वितरण गरिएको छ। त्यसैगरी माध्यमिक र आधारभूत विद्यालयहरूलाई २९ वटा प्रिन्टर, २० वटा ल्यापटप तथा २० वटा लेमिनेसन मेसिन उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

    सामग्री वितरणअघि विद्यालयका प्रधानाध्यापकलाई सूचना प्रविधि अधिकृत दिपक गौतम र कम्प्युटर अधिकृत सुदिप राईले उपकरण सञ्चालनसम्बन्धी प्रशिक्षण दिएका थिए।

     



    फास्ट न्युज    
  • २०८३ असार १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट