logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

    904Shares
    भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

    काठमाडौं । भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ ।  भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।

    बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङलाई बेली ब्रिज हस्तान्तरण गरेका छन् । भारतले उपलब्ध गराएको बेली ब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ ।

    पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनस्र्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्वपूर्ण रहेको बताए ।  सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिबृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्धिपक्षीय साझेदार अझै दह्रो देखिएको बताए । उनले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए ।

    नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सँधै तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएको बेली ब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्याएका सडक सञ्चालनका लागि भारतकातर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट