logo

२०८३ श्रावण २० बुधबार

logo
  • २०८३ श्रावण २० बुधबार
  • शव नबुझ्ने अडानपछि शिक्षण अस्पताल जाँदै गृहमन्त्री, रबिन्द्र मेहता प्रकरणमा सरकारमाथि दबाब

    733Shares
    शव नबुझ्ने अडानपछि शिक्षण अस्पताल जाँदै गृहमन्त्री, रबिन्द्र मेहता प्रकरणमा सरकारमाथि दबाब

      काठमाडौं — सुनसरीको कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका रबिन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जाने भएका छन्। पीडित परिवारले आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएपछि गृहमन्त्री अस्पताल पुगेर छलफल गर्ने तयारीमा रहेका हुन्।

    मेहताका आफन्त तथा पीडित पक्षले शिक्षण अस्पताल परिसरमा धर्ना दिँदै गृहमन्त्री स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने माग राखेका छन्। उनीहरूले दोषीमाथि कारबाही, घटनाबारे सरकारको स्पष्ट प्रतिबद्धता तथा पीडित परिवारका माग तत्काल सम्बोधन गर्नुपर्ने अडान दोहोर्‍याएका छन्। माग पूरा नभएसम्म शव नबुझ्ने उनीहरूको भनाइ छ।

    गृहमन्त्री निकट स्रोतका अनुसार, गुरुङ केहीबेरमै शिक्षण अस्पताल पुग्ने कार्यक्रम छ। त्यसअघि उनी हिन्दु र मुस्लिम समुदायका अगुवासँग घटनापछिको अवस्थाबारे छलफलमा सहभागी भएका थिए। स्रोतका अनुसार उक्त छलफल अन्तिम चरणमा पुगेपछि उनी अस्पताल जाने तयारीमा छन्।

    रबिन्द्र मेहताको मृत्यु भएपछि अस्पताल परिसरमा आफन्त र समर्थकहरूले प्रदर्शन गर्दै ‘दोषीलाई कारबाही गर’, ‘हाम्रो माग पूरा गर’ लगायतका नाराबाजी गरेका छन्। उनीहरूले सरकारले पीडित पक्षका मागप्रति गम्भीरता नदेखाए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिएका छन्।

    रबिन्द्र मेहताको निधनसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि सोही घटनामा जयप्रकाश मेहता र ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। पछिल्लो घटनाक्रमसँगै सरकार र पीडित पक्षबीच संवादमार्फत समाधान खोज्ने प्रयास तीव्र बनेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट