logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • नेपाली कांग्रेस खोटाङको सभापतिमा पुनः विष्णुकुमार राई सक्रिय

    841Shares
    नेपाली कांग्रेस खोटाङको सभापतिमा पुनः विष्णुकुमार राई सक्रिय

        खोटाङ । नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई पुनः सभापतिको हैसियतमा सक्रिय हुनुभएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयले वैशाख २४ गते पठाएको पत्रमार्फत राईलाई जिल्ला कार्यसमिति खोटाङको सभापतिको हैसियतले दैनिक कामकाज गर्ने जिम्मेवारी प्रदान गरेको हो ।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको हस्ताक्षर रहेको पत्रमा पार्टीको संगठनात्मक गतिविधि तथा समन्वयलाई प्रभावकारी ढंगले सञ्चालन गर्न भनिएको छ। पत्रमा पार्टीको विधान र नियमावलीअनुसार दैनिक कामकारबाही सञ्चालन गर्न निर्देशन समेत दिइएको छ ।
    २०७९ प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको उजुरीका आधारमा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले राईलाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

    राईले प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेललाई सहयोग गरेको आरोप लागेको थियो ।
    त्यसपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ साल पुस १३ गते बसेको बैठकले राईलाई माफी मिनाहा दिने निर्णय गरे पनि सभापति पद भने कायम नरहने निर्णय गरिएको थियो । कारबाही फुकुवा भए पनि जिल्ला सभापति को हुने भन्ने विषय अन्योलमै रहेको थियो ।

    कांग्रेस केन्द्रीय समितिको पछिल्लो निर्णयसँगै खोटाङ कांग्रेसमा देखिएको नेतृत्व विवाद अन्त्य भएको बताइएको छ । सभापति पद रिक्त भएपछि जिल्लामा पार्टीका संगठनात्मक गतिविधि प्रभावित बनेका थिए । सो अवधिमा पार्टी गतिविधि तथा कार्यालय सञ्चालन जिल्ला प्रवक्ता एवं अनुशासन समिति संयोजक रोजन राईको सक्रियतामा सञ्चालन हुँदै आएको थियो ।

    यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विष्णुकुमार राईको कारबाही फिर्ता गर्दै सभापतिको हैसियतमा काम गर्ने गरी पत्र पठाइसकेको प्रदेश ख का क्षेत्रीय सभापति दिनेश घिमिरेले जानकारी दिनुभयो । वर्तमान केन्द्रीय समितिले समेत कार्यभार सम्हाल्ने औपचारिक पत्र पठाएपछि खोटाङ कांग्रेसभित्रको विवाद टुंगिएको उहाँको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट