काठमाडौं – चारदेशीय टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो।
कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे भने आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे। कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाए। ओपनरद्वयले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे।
नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३१ रन बनाए । कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे । ६ बलको सामना गरेका कुशल मल्ल भने चार रन बनाउँदा आउट भए । १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया