खोटाङ, नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि खोटाङका दुई प्रदेश सभा क्षेत्रमा क्षेत्रीय संयोजक तोकिएका छन्। जिल्ला अधिवेशन तयारी समितिका संयोजक रोजन राईले प्रदेश सभा क्षेत्र (क) मा उद्धव राई र प्रदेश सभा क्षेत्र (ख) मा बसन्त राईलाई संयोजकको जिम्मेवारी दिएका हुन्।
जिल्ला अधिवेशन तयारी समितिका तर्फबाट असोज ५ गते जारी गरिएको पत्रमार्फत बसन्त राईलाई प्रदेश सभा क्षेत्र (ख) को संयोजकमा मनोनयन गरिएको जानकारी दिइएको छ। समितिले महाधिवेशनको तयारीलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन क्षेत्रीय तहमा जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।
पत्रमा क्षेत्रीय संयोजकका रूपमा सम्बन्धित क्षेत्रभित्रका पार्टी नेता, कार्यकर्ता तथा विभिन्न तहका समितिहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै महाधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। साथै, महाधिवेशन तयारीसँग सम्बन्धित कामलाई व्यवस्थित रूपमा अघि बढाउँदै जिल्ला अधिवेशन तयारी समितिसँग निरन्तर समन्वय र सम्पर्कमा रहेर प्राप्त जिम्मेवारी तथा निर्देशनअनुसार काम गर्न भनिएको छ।
संयोजक रोजन राईले दुवै क्षेत्रीय संयोजकलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै पार्टी संगठन निर्माण र सुदृढीकरणमा योगदान पुर्याउने विश्वाससहित कार्यकालको शुभकामना दिएका छन्।
यसअघि कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ असोज २३ गतेका लागि तोकिएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म हुने तय गरिएको छ।
खोटाङमा महाधिवेशनका विभिन्न तहको तयारी अघि बढिरहेका बेला क्षेत्रीय संयोजक तोकिएसँगै सम्बन्धित क्षेत्रको अधिवेशन तयारी, समन्वय र संगठनात्मक गतिविधि बढीरहेको छ।
प्रतिक्रिया