काठमाडौं । सञ्चारमन्त्री विक्रम तिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका छन्।
शुक्रबार काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापन संघीय सरकार, स्थानीय तह वा कुनै एक निकायको मात्र समस्या नभई राष्ट्रिय समस्या भएकाले सबै पक्ष मिलेर समाधान खोज्नुपर्ने बताए।
‘यो संघ र स्थानीय निकायको समस्या होइन, यो एउटा राष्ट्रिय आपतकाल हो। यो हामी सबैको दायित्व हो। एक–अर्कालाई सहयोग गर्यौँ भने समस्याको समाधान हुन्छ, एक–अर्कालाई देखाएर औँला ठड्यायौँ भने समाधान हुँदैन,’ उनले भने।
मन्त्री तिल्सिनाले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्तिको पहल गरिरहेको विषयमा भूमि व्यवस्था मन्त्रीसँग समेत छलफल भएको जानकारी दिए। हालको कानुनी व्यवस्थाले स्थानीय सरकारलाई संघीय सरकारको जग्गा उपलब्ध गराउन सीमितता रहेकाले आवश्यक परे कानुन वा नियमावली संशोधन गरेर समाधान खोजिने उनले बताए।
तत्कालका लागि लिजमा जग्गा उपलब्ध गराउने तथा स्थानीय तहले तिर्नुपर्ने रकमसमेत हटाउने गरी नियमावली संशोधनमार्फत समाधान निकाल्न सकिने विषयमा छलफल भइरहेको उनको भनाइ छ।
‘ऐन संशोधन गर्नुपर्छ भने त्यसमा पनि जाऊँ। तर यो जरुरी विषय भएकाले यसको उपाय मन्त्रिपरिषद्बाटै निकाल्ने गरी अगाडि बढौँ भनेर तयारी गर्न भनेको छु,’ उनले भने।मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनका लागि छोटो, मध्यम र दीर्घकालीन योजना आवश्यक रहेको बताए। सबै निकायले आफ्नो जिम्मेवारी स्पष्ट पहिचान गरी समस्याको गाँठो फुकाउन इमानदारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ।
‘आजको भोलि समस्याको समाधान हुन सक्दैन, यसको लामो इतिहास छ। तर आज केही पनि नगरे फेरि भोलि समस्याको समाधान हुँदैन,’ उनले भने।
फोहोर व्यवस्थापनको समस्याबाट प्रभावित क्षेत्रका बासिन्दाको पीडालाई आफूले गम्भीर रूपमा लिएको मन्त्री तिल्सिनाले बताए। आफू प्रभावित क्षेत्रको जनप्रतिनिधिसमेत भएकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए।प्रभावित क्षेत्रका नागरिकलाई द्वन्द्वको बाटोमा नजान आग्रह गर्दै मन्त्री तिल्सिनाले सरकार गम्भीरतापूर्वक समाधान खोज्न लागिरहेको अवस्थामा केही समय सहयोग गर्न आग्रह गरे।
‘हामी द्वन्द्वमा नजाऔँ। आजको दिनमा मैले त्यहाँको प्रतिनिधिको हिसाबले यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिएको छु। केही समय मलाई काम गर्न दिनुस्,’ उनले भने।फोहोर व्यवस्थापनमा जापानी प्रविधि प्रयोग गर्न सकिने विषयमा समेत छलफल भइरहेको उनले बताए। सभामुखसँग यस विषयमा छलफल भएको र जापानको प्रविधिबाट सहयोग लिन सकिने सम्भावना रहेको उनले जानकारी दिए।मन्त्री तिल्सिनाले काठमाडौं उपत्यकाका सबै स्थानीय तहका प्रमुखलाई सहकार्यका लागि आग्रह गर्दै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सबै पक्ष एक ठाउँमा आउनुपर्ने बताए।
‘राम्रो काम जहिले पनि आफैँले सुरुवात गर्न सकेको राम्रो। फोहोर व्यवस्थापनको एउटा राम्रो मोडल स्थापित गरेर जान सक्ने अवस्था बनोस्,’ उनले भने।फोहोर व्यवस्थापनको समस्याका कारण नुवाकोट र धादिङका प्रभावित क्षेत्रका नागरिकको मानवअधिकारसमेत प्रभावित भइरहेको उल्लेख गर्दै मन्त्री तिल्सिनाले समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया